पथरी शनिश्चरेमा खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता हुने - Crazysaptahik.com

पथरी शनिश्चरेमा खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता हुने

क्रेजी संवाददाता
पथरी । ‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ एण्ड डान्सिङ आइडल प्रतियोगिता २०८२ हुनेभएको छ ।
आज कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरी पथरी शनिश्चरे नगर स्तरीय खुल्ला सिंगिङ तथा डान्सिङ आइडल प्रतियोगिताको बारे जानकारी गराइएको हो ।
यही वैशाख २६ गतेदेखि सुरु हुने पहिलो चरणको अडिसनबाट प्रतियोगिता प्रारम्भ हुने आयोजकका अध्यक्ष अमिर राई (धनराज)ले जानकारी गराउनुभयो । प्रतियोगिता चार चरणमा सम्पन्न गरिनेछ जसमा अडिसन, सेलेक्शन, फाइनल र ग्राण्ड फिनाले चरण समावेश छन् । गायनतर्फको अडिसन म्यूजिक ट्रयाकमा गराइनेछ भने फाइनल चाहिँ लाइभ शो गराइने गायन विधा प्रमुख अर्जुन सेन्चुरीले जानकारी दिनुभयो ।
पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हुने सो प्रतियोगिता वैशाख २६ गते हसन्दह बजारबाट सुरुवात हुनेछ । यस्तै २७ गते पथरी बहुमुखी क्याम्पसमा अडिसन हुनेछ भने दोस्रो चरणको जेठ ३ गते शनिबार पथरी बहुमुखी क्याम्पसमा छनौट कार्यक्रम राखिनेछ ।
जसबाट गायन र नृत्य विधाका उत्कृष्ट २०/ २० जनाको छनौट गरिनेछ । तेस्रो चरणको जेठ १० गते एभरेष्ट बोर्डिङ स्कुलमा छनौट गरी उत्कृष्ट १०/ १० जना छानिनेछ । यस्तै चौथो तथा फाइनल चरण (ग्रान्ड फिनाले) चाहिँ जेठ २४ गते वडा नं. २ को हरियाली सामुदायिक वन समूहको हलमा गरिनेछ ।
पथरी शनिश्चरे नगरपाकिाको मुख्य सहयोगमा हुने दुवै अडिसनमा भाग लिने सहभागीहरूले पथरीशनिश्चरे नगरपालिकामा स्थायी बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने आयोजकले जनाएको छ । यस्तै नगरवासीहरु कतै बाहिर बसोबास गरेको भए यदि सहभागी हुने चाहनेहरुले डिजिटल अडिसन दिन सक्ने आयोजकले जनाएको छ । डिजिटल अडिसनको लागि मो. ९८०३५६१०४० सम्पर्क गर्न सकिनेछ ।
सिंगिङ र डान्सिङ छुट्टाछुट्टै विधाका प्रथम, द्वितीय र द्वितीय स्थान हासिल गर्ने विजेताले क्रमशः ४० हजार, २० हजार र १० हजारका दरले नगद सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । सोही अवसरमा नगर क्षेत्रका एक वरिष्ठ सर्जकलाई नगद रु. २५ हजार रूपैयाँ नगद सहित मुहारचित्र र सम्मानपत्रले सम्मानित गरिने आयोजकका सचिव लक्ष्मीप्रसाद फुयलले जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा कला साहित्य प्रवद्र्धन समितिका सल्लाहकार तथा साहित्यकार भूपेन्द्रराज तिम्सिना, नृत्य तर्फको प्रमुख राम बि.क. लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.