
क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–९ को शनिश्चरे चौकमा स्थापित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले २२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।
शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
वार्षिकोत्वमा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, संस्थापक सेयर सदस्यहरू, विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक, स्थानीय व्यक्तित्व तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सुरुवातमा दीप प्रज्वलनसँगै राष्ट्रिय गान र सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरेर गरिएको थियो । सह–प्रधानाध्यापक गोपालप्रसाद तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक शान्तिराम बरालले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा कक्षा– ३, ५, ६ र ८ का विद्यार्थीहरूले विभिन्न साँस्कृतिक नृत्य तथा उत्कृष्ट गायनहरु प्रस्तुत गरेका थिए । विद्यालयकी छात्रा बर्वावसा चौलागाईले मन्तव्य राख्दै विद्यालयले प्रदान गरेको शिक्षाले आफ्नो भविष्य निर्माणमा सहयोग पुगेको सुझाइन् । प्रधानाध्यापक होमनाथ घिमिरेले विद्यालयका भावी योजना प्रस्तुत गर्दै गुणस्तरीय शिक्षामा विद्यालय प्रतिबद्ध रहेको सुनाए ।
प्रमुख अतिथि तुम्बापोले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै अनुशासन र गुणस्तरीय शिक्षा नै सफल जीवनको आधार भएको उल्लेख गरे । सो अवसरमा प्रमुख अतिथि तुम्वापोले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
पहिलो सत्र अध्यक्ष लिम्बुले समापन गरेका थिए भने दोस्रो सत्र विद्यार्थीहरू रिकेश भट्टराई र बविसा चौलागाईले सञ्चालन गरेका थिए । साँस्कृतिक कार्यक्रम साँझ सम्म सञ्चालन भएको थियो । विद्यालयले हरेक वर्ष वार्षिकोत्सव तथा पुरस्कार वितरण यसरी नै भव्य रुपमा मनाउँदै आएको छ ।


