
क्रेजी संवाददाता
काठमाडौं । वि.सं. २०४३ सालमा स्थापित मोरङ पथरी शनिश्चरेको पहिलो निजी आवासीय विद्यालय एभरेष्ट आवासीय माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आफ्नो अग्रतालाई कायम राख्दै निरन्तर अघि बढिरहेको छ ।
भर्खरै काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको प्रतिष्ठित ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा एभरेष्टले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ग्राण्ड फिनालेमा देशभरका प्रतिभाशाली विद्यार्थीबीच भएको कडा प्रतिस्पर्धामा एभरेष्टका तीन विद्यार्थी विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । जनआवाज मिडिया प्रा.लि.द्वारा आयोजित उक्त प्रतियोगिता विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा पहिचान, विकास तथा राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले तीन महिनाअघिदेखि सञ्चालन गरिएको थियो । प्रतियोगितामा नेपालभरका करिब ५ सय विद्यालयबाट १ हजारभन्दा बढी प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गायन, नृत्य, चित्रकला, वक्तृत्वकला तथा हस्तलेखन गरी पाँच विधामा प्रतिस्पर्धा सञ्चालन गरिएको थियो । सात चरण पार गर्दै एभरेष्टका ओसन सेन्चुरी, स्नेहा वनेम र शीतल श्रेष्ठ ग्राण्ड फिनालेसम्म पुग्न सफल भएका थिए ।
अन्तिम नतिजाअनुसार ओसन सेन्चुरीले गायन विधामा दोस्रो स्थान, स्नेहा वनेमले चित्रकला विधामा दोस्रो स्थान तथा शीतल श्रेष्ठले हस्तलेखन विधामा तेस्रो स्थान हासिल गर्दै एभरेष्टको साख उच्च बनाएका छन् । दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका छन् भने तेस्रो स्थान हासिल गर्ने विद्यार्थीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् ।
यस विषयमा विद्यालयका निर्देशक रविन कन्दङ्वाले राष्ट्रिय स्तरमै आफ्ना विद्यार्थीहरूले उत्कृष्ट स्थान हासिल गर्नु सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले यस सफलताका लागि विद्यार्थीहरूप्रति विद्यालय परिवार सदैव कृतज्ञ रहने उल्लेख गर्नुभयो ।


