
क्रेजी संवाददाता
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ शान्तिचोकमा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा शुक्रबार र शनिबार गरी दुई दिवसीय कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विविध सांस्कृतिक तथा शैक्षिक प्रस्तुति राखिनुका साथै अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक/प्रिन्सिपल टी.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मोहन प्रसाद तुम्बापो रहनुभएको थियो । प्रमुख अतिथि तुम्बापोले मन्तव्यका क्रममा पूर्वी मोरङको शैक्षिक हबको रूपमा स्थापित रेडस्टार माविले आफ्नो शान र इज्जत उच्च राख्दै शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सावित यस विद्यालयले विभिन्न जातजाति र समुदायको सांस्कृतिक एवं मौलिकता संरक्षणमा समेत योगदान दिएको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजु तिम्सिना, सुजन बास्तोला, विजय डाँगी लगायत अभिभावक, शिक्षक तथा अतिथिहरूको विशेष उपस्थिति रहेको थियो । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले उत्कृष्ट नृत्य, गायन, कविता, भाषण, नाटक, र्याम्प वाक तथा कथा वाचनलगायत विविध प्रस्तुति पस्केका थिए ।
शैक्षिक सत्र २०८०/०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई कक्षा ४ देखि १२ सम्म वार्षिक तथा शैक्षिक पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा कक्षा ९ मा अध्ययनरत काव्य बरालको निर्देशनमा भानुभक्त आचार्यको जीवनमा आधारित सांगीतिक नाटक प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
त्यसैगरी विभिन्न तह र कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षकका रूपमा अतिरिक्त क्रियाकलाप संयोजक सनम गजमेर तथा उत्कृष्ट कर्मचारीका रूपमा सन्तकुमार लामालाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।


