
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापिते सिड्लिङ मन्टेस्वरी स्कुलको १० आंै वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ ।
बुधबार वडा नं. २ को हरियाली सामुदायिक वनमा भएको वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा शैक्षिक तथा साँस्कृतिक गतिविधिहरू भएको थियो । मन्टेश्वरीमा अध्ययनरत नानी बाबुहरुले साकेला नृत्य, कल्चरल डान्स, दीक्षित हुने नानी बाबुहरुले इन्ट्रोडक्सन र डान्स प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले छोटो समयमै विद्यालयले मन्टेश्वरी पद्धति मार्फत् गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकहरूको मन जित्न सफल भएको बताउनुभयो ।
सो कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विभिन्न आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

मन्टेश्वरीले सो अवसरमा मन्टेश्वरी स्थापना भएदेखि निरन्तर रूपमा कार्यरत कर्मचारी र शिक्षिकालाई सम्मान गरेको थियो । कर्मचारीतर्फ माया पौडेल र रिना राई तथा शिक्षिकातर्फ सविता राईलाई दोसल्ला, प्रशंसा–पत्र र नगद रु. ५ हजार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पथरी शनिश्चरे–२ का वडाध्यक्ष नैना राई, वडा सदस्य चन्द्रकुमार राई (सिके), इटहरीमा अवस्थित एप्पल मन्टेस्वरी स्कुलकी प्रिन्सिपल चन्द्रकला घिमिरे, स्वस्तिक इन्टरनेसनल मन्टेश्वरी ट्रेनिङ सेन्टरकी प्रशिक्षक लक्ष्मी ढुंगाना, लगायत अतिथि तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मन्टेस्वरीकी प्रिन्सिपल एवं अध्यक्ष बिन्दु चेम्जोङ राईको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विवेक न्यौपाने, सुम्निमा राई तथा विद्यालयका साना विद्यार्थीहरूले संयुक्त रूपमा गरेका थिए ।


