भव्य रुपमा सम्पन्न पेगोडाको ३२ औं अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम - Crazysaptahik.com

भव्य रुपमा सम्पन्न पेगोडाको ३२ औं अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ३, वीरेन्द्रनगरमा स्थापित न्यै पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलले आफ्नो ३२ औं अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
आज विद्यालयले रमेश कुमार कोइरालाको अध्यक्षतामा एक विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन पश्चात् विद्यालयका निर्देशक गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको वर्तमान अवस्था तथा प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो यस्तै, अभिभावकको तर्फबाट मोहन गौतमले मन्तव्य राख्नुभएको थियो ।


वडा अध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांगीतिक, सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति मार्फत उपस्थित अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । छात्राहरुले प्रस्तुत गरेको मारुनी नृत्य, ‘पानी मुनी माछा…’ गीतमा गायन, तामाङ सेलो नृत्य तथा ‘मेरो गाउँ ज्यामिरे…’ गीतसँगै अभिनय प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो । सो कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत पनि गरिएको थियो ।


कार्यक्रममा वडा नं. ३ का सदस्यद्वय चन्द्रप्रकाश चेम्जोङ र सीता अधिकारीसहित अभिभावक, शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । पेगोडाले हरेक वर्ष विद्यार्थीहरुलाई हौसला दिने हेतुले यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.