
क्रेजी संवाददाता
पथरी । आगामी असोज १७ गतेदेखि २६ गतेसम्म पथरी शनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सञ्चालन हुने भएको छ ।
स्थानीय पथरी–११ फुटबल क्लब को आयोजनामा पथरीको जाँतेमोडस्थित पथरी रंगशालामा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

क्लबका सचिव केशर थुलुङका अनुसार वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यअनुसार गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि अनुमानित ८० लाख रुपैयाँ बराबरको आय–व्यय विवरण समेत सार्वजनिक गरिएको छ । सार्वजनिक बजेटअनुसार प्रतियोगिताको कूल आम्दानी र खर्च दुवै ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुमन विकले जानकारी दिनुभयो ।
पथरीशनिश्चरे गोल्डकपको पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ । आयोजकले तेस्रो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने तयारी गरेको जनाएको छ ।



