आफ्नै बुबाको हत्या आरोपमा एक युवक पक्राउ - Crazysaptahik.com

आफ्नै बुबाको हत्या आरोपमा एक युवक पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै बुबाको हत्याको आरोपमा सप्तरीको महादेवा गाउँपालिका १ वकरी कुजराहीका २३ वर्षीय नइम पमरियालाई पक्राउ गरी पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ ।

हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ । मृतकका भाई मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपित विरुद्ध गत असोज २० गते उजूरी दिएका थिए । मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो ।

छिमेकी फुल मोहम्मदका अनुसार दिनहँु मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुबासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए । कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । आरोपित नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुबा अचानक लडेर मृत्यु भएको बताएका थिए ।

सम्बन्धित खवर