न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पाँचौ टी २० खेलमा दुवै टिमले समान रन बनाएका छन् । दुवै टिमले १४६–१४६ रन बनाएपछि भएको सुपर ओभरमा भने इंग्ल्यान्ड विजयी भयो ।
तीन महिनाअघि भएको एकदिवसीय विश्वकपको फाइनलमा पनि इंग्ल्यान्ड र न्युजिल्यान्डको स्कोर बराबरी भएको थियो। सुपर ओभर पनि स्कोर बराबरी भएपछि इंग्ल्यान्डले बढी बाउन्ड्रीको आधारमा विश्वकपको उपाधि जितेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १७ रन जोड्यो। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ८ रन मात्र जोड्न सक्यो। जितसँगै पाँच खेलको सिरिज इंग्ल्यान्डले ३–२ ले जित्यो ।
यसअघि पहिलो खेलमा इंग्ल्यान्ड, दोस्रो खेलमा न्युजिल्यान्ड, तेस्रो खेलमा पनि न्युजिल्यान्ड र चौथो खेलमा इंग्ल्यान्ड विजयी भएको थियो । अकल्यान्डलमा वर्षाले प्रभावित खेल ११ ओभरमा झारिएको थियो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा १४६ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि ७ विकेटको क्षतिमा १४६ रन नै जोड्यो ।
अन्तिम ओभरमा इंग्ल्यान्डका लागि १६ रन चाहिएको थियो। इंग्ल्यान्डका क्रिस जोर्डनले अन्तिम ३ बलमा १२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। त्यसअघि तेस्रो बलमा टम कुरान आउट हुनुअघि इंग्ल्यान्डले ३ रन जोडेको थियो । खेलमा इंग्ल्यान्डका लागि जोनी बायस्टोले सबैभन्दा बढी ४७ रन जोडे ।