काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा ऐतिहासिक उपाधि जित्न सफल टोलीलाई जनही २५ हजार दिने घोषणा गरेको छ ।
संघको शनिबार बसेको बैठकले ऐतिहासिक स्वर्णपदक जितेका १२ खेलाडी र ४ अफिसियल गरी १६ सदस्यीय टोलीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरेको हो । त्यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवालले शुक्रबार खेलाडीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्दै टोलीलाई सरकारबाट जनही ३–३ लाख प्रदान गरिने घोषणा गरेका थिए ।
यस्तै संघका अध्यक्ष मनोरन्जन रमण शर्माले टोलीलाई जनही १०–१० हजार रुपैया दिने घोषणा गरिसकेका छन् । बंगलादेशको ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा गत बिहीबार सम्पन्न फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको थियो ।
जुन नेपाली भलिबल इतिहासकै सबैभन्दा ठुलो सफलता हो । च्याम्पियनसिपमा नेपाल एक सेट पनि नगुमाई अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
२३ कात्तिकबाट शुरु भएको च्याम्पियनसिपमा आयोजक बंगलादेश, नेपाल, अफगानिस्तान, कीर्गिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । किर्गिस्तान तेस्रो तथा घरेलु टोली बंगलादेश चौथो भएको थियो । अफगानिस्तान अंकविहीन भएको थियो ।
नेपाली टोली :
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सफिया पुन, जानकी भण्डारी
मुख्य प्रशिक्षक: जगदीश भट्ट
प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव
व्यवस्थापक : रिता कोइराला
– हाम्रो खेलकुदबाट