मोटरसाइकल ओभरटेक गरेको निहुँमा हत्या गर्ने पक्राउ - Crazysaptahik.com

मोटरसाइकल ओभरटेक गरेको निहुँमा हत्या गर्ने पक्राउ


क्रेजी साप्ताहिक कञ्चनपुर । मोटरसाइकल ओभरटेक गरेको निहुँमा चक्कु प्रहार गरी हत्या गर्ने ४ जना पक्राउ परेका छन् । घटनामा पक्राउ परेका चार जनाले अपराध स्विकारेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ गोबरैयामा २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेट प्रहार गरेर विहिवार हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनाले अपराध स्विकारेको जनाएको छ । घटनामा पक्राउ पर्नेमा १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र २२ वर्षकै गणेश लुहार रहेका छन् । यी मध्ये मनिष नाथ ज्यान मार्ने उद्योगको मुद्दा लागेका व्यक्ति हुन । यसअघि उनले भीमदत्त नगरपालिकाको मझगाउँमा लागेको रामलिलामा ‘ज्यानमारा’ हमला गरेका थिए । उनी फरार सूचिमा रहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइलमा सवार पन्तलाई चारजनाको समूहले आफूहरुको स्कुटरलाई किन ओभरटेक गरेको भन्दै हेलमेट र चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा मनिषको प्रमुख भूमिका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए । कुटपिटबाट घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको थियो । भारत लैजादै गर्दा उनको बाटोमा ज्यान गएको थियो । स्थानीयले दोषीमाथी कारवाहीको माग गरेका छन् । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

सम्बन्धित खवर