लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन - Crazysaptahik.com

लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन


क्रेजी साप्ताहिक काठमाडौं । लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग शुक्रबार छलफलपछि लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न समितिले निर्देशन दिएको हो ।

छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् । उनले भनिन् ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ, यसका लागि डकुमेण्ट संकलन गरिरहेको छ ।’ समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको छ । साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले गृह, भूमिव्यवस्था र परराष्ट्र मन्त्रालयसहितका निकायहरुको संयुक्त समन्वयनकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न पनि भनेको छ । यसअघि संसदको राज्य व्यवस्था समितिले पनि सरकारलाई लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित खवर