क्रेजी साप्ताहिक
खोटाङ । सोमबार राति खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा आगलागी हुँदा लाखौँको धममाल जलेको छ । मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ । आगलागिबाट करिब ६३ लाअ रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
राति करिब साढे १ बजेको समयमा इलाका प्रहरी कार्यालय खोटाङको टोलीले आगलागी भएको थाहा पाएपछि स्थानीयबासीलाई समेत खबर गरेर आगो नियन्त्रणमा लिएको हो । करिब ३ घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।सो घरमा एकमात्र वृद्धा बस्दै आएको र उनलाई राति नै सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।
टिनको छानो भएको तथा ढुङ्गा–माटोले बनेको उक्त तीन तले घर तथा घरभित्र रहेको सम्पूर्ण सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएको बताइएको छ । घरका माथिल्लो तलामा करिब ३० लाख बराबरको धनमाल क्षति भएको छ भने सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयालको पुस्तक पसलमा रहेका स्टेशनरीका सम्पूर्ण सामान जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई रमेश राईले सञ्चालन गर्दै आएको मोबाईल पसलमा १८ लाख बराबरका सामानहरु जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय खोटाङ बजारले दिएको जानकारी अनुसार सोमबार बेलुकी मोबाइल पसल बन्द गर्ने क्रममा विद्युतीय सामग्रीहरु राम्रोसँग बन्द नगरिएका कारण विद्युत सर्ट भएर आगलागी भएको हुन सक्छ । ‘मोबाइल पसलेका बुवाले बेलुका पसल बन्द गर्नु भएको रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले रातोपाटीलाई भने, ‘उहाँले कतिपय विद्युतीय उपकरण राम्रोसँग बन्द गर्न नजानेर राति विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्छ ।’