क्रेजी साप्ताकिक । प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जिल्ला अदालत भक्तपुरले जन्मकैद सजायको फैसला गरेको छ । बिहिबार जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले जन्मकदैको फैसला सुनाएको हो । गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्रा भट्टराईको हत्यामा संलग्न सावित्राकी छोरी ईश्वरी भट्टराईसहित चारजनालाई जन्म कैदको फैसला गरेको हो ।
जन्मकैदको सजाय पाउनेमा ईश्वरीसँगै सिराहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइस रहेको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए । ईश्वरी र सिराहाका नौशादसँग विवाहेत्तर सम्बन्धमा थिए । ईश्वरीले श्रीमान नभएको मौका पारेर नौशादलाई घरमै ल्याउने र घण्टौं बन्द कोठामा समय बिताउने गरेका थिए । छोरीको सो सम्बन्धमा मन नपराएकी सावित्राले घर नबिगार्न र नौशादको साथ छोड्न दबाब दिँदै आएकी थिइन् । ईश्वरीले आफ्नो प्रेम सम्बन्धको बाधक बनेको भन्दै आमा सावित्रालाई बाटोबाट हटाउन प्रेमी नौशादलाई दबाब दिन थालिन् । प्रमिकाको दबाब थेग्न नसकेपछि नौशादले भारतीय कन्ट्याक्ट किलर बोलाएर सावित्राको घाँटी रेटी हत्या गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा सावित्राको हत्या गर्न ईश्वरी र नौशादले भारतीय कन्ट्याक्ट किलर भोलाकुमारलाई १२ लाखको सुपारी दिएको खुल्न आएको थियो ।