वडा कार्यालयसहित ९ घरमा भएको चोरी प्रकरणको अनुसन्धान सुरु - Crazysaptahik.com

वडा कार्यालयसहित ९ घरमा भएको चोरी प्रकरणको अनुसन्धान सुरु


क्रेजी साप्ताहिक
ओखलढुंगा । ओखलढुंगामा वडा कार्यालय सहित ९ वटा घर तथा पसलहरु तोडफोड गरी भएको चोरी प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । सिद्धिचरण नगरपालिका ३ अधेरी नारायणस्थान स्थित वडा कार्यलय र स्थानीयको घरको ढोका फोडी गत सोमबार मध्यराती नगद तथा गरगहना चोरी भएको थियो ।

दिउँसोको समयमा दुई जना भारतीय नागरिकहरु तन्ना बेच्ने बहानामा भारतीय मोटरसाईकल प्रयोग गरी आएको र बेलुकापख चोरी भएपछि स्थानीयले उनीहरुकै संलग्नता आंशका ब्यक्त गरेका छन् । वडा कार्यालय भवनको ढोकाको ताल्चा फोडेर भित्र रहेको काउन्टरको सिसा फुटाई नगद चोरी भएको वडा कार्यलयले जनाएको छ । त्यस्तै स्थानीय शमशेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको राईले बताए ।

अन्य पसलहरुबाट भने ८ देखि १० हजार रुपैयाँ सम्म चोरी भएको स्थानीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् । वडा कार्यलय र स्थानीय सहितको लगभग २ लाख पचार हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । घटनापश्चात स्थानीयले शंका ब्यक्त गरिएका दुई भारतीय नागरिकलाई रमाईलो डाँडाबाट नियन्त्रणमा लिएपछि छाडिदिइसकेको छ ।  त्यस्तै सोही घटनामा संलग्न भएको आशंकामा अन्य तीन युवाहरुलाई समेत नियन्त्रण लिएर सोधपुछपछि तारेखमा रिहा गरिएको प्रहरी निरिक्षक बस्नेतले बताए ।

सम्बन्धित खवर