करोडौँ खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो - Crazysaptahik.com

करोडौँ खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो


क्रेजी साप्ताहिक
करोडौ रकम खर्च गरेर दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानो पानी चुहिन थालेको छ । प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट समेत भिजेका छन् ।

फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन । जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ । राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशालामा गत महिना मात्रै फ्याब्रिकको प्यारापिट जडान गरेको थियो । चीनबाट खरिद गरिएको प्यारापिटका लागि साढे चार करोड रुपैयाँ खर्च भएको छ । यो रकम भ्याट बाहेकको हो । प्यारापिट आउन ढिलाइ भएपछि खेलकुद परिषद्ले एयर कार्गोमा ५२ लाख रुपैयाँ खर्च गरेर ल्याएको थियो । जसका कारण ढुवानीमा पाँच गुणा बढी खर्च भएको थियो।

गत महिना आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापनका लागि खेलकुद परिषद्ले अन्तिम समयमा प्यारापिट गरेको थियो । ’फ्याब्रिक राम्रोसँग नतन्किएका कारण जोर्नीबाट पानी चुहिने समस्या देखिएको छ, पानीको निकास पनि व्यवस्थित हुन सकेको छैन’ राष्ट्रिय खेलकुद परिषद्का प्रमुख इन्जिनियर अरुण उपाध्यायले भने,’सागका लागि हतारमा काम गर्नु परेकाले समस्या देखिएको हो।’ पाँच करोड खर्च भएको प्यारापिट चुहिन थालेपछि राष्ट्रिय खेलकुद परिषदले प्यारापिटको डिजाइन परिवर्तन गर्ने भएको छ। ’छानो बढाउन र पानीको निकासका लागि हामी फेरि अर्को डिजाइन गर्दैछौं,’ उपाध्यायले भने ।

३ हजार दर्शक क्षमताको भिआइपी प्यारापिटको ‘सिमेन्टेड’ छानो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो। त्यसपछि सिमेन्टेड छानोको सट्टामा खेलकुद परिषद्ले फ्याब्रिक प्रणाली प्रयोग गर्दै अत्याधुनिक प्रविधि भनेर दाबी गरेको थियो। तर यो प्रणाली राम्रोसँग जडान नहुँदा पानी चुहिने समस्या देखिएको छ।

सेतोपाटीबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.