क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्रा पथरीशनिश्चरेबाट पश्चिम लागेको छ । पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले बिहिबार मेचीपुलबाट थालेको यात्रा शुक्रबार आफ्नै नगरको प्रमुख पर्यटकीयस्थल शान्तिभूल्के सिमसार क्षेत्रहुँदै पश्चिम लागेको हो ।
उनिहरुलाई एक कार्यक्रमकाबीच संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका कार्यालयबाट शुभकामना सहित टीका र खादा लगाएर विदाई गरेका थिए । सो अवसरमा नगर उपप्रमुख वास्तोलाले अधिकारी र थापाले थालेको यात्राले पथरीशनिश्चरे नगरको पर्यटन प्रवद्र्धन सहित मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास राख्दै खुसी व्यक्त गरीन । उनीहरुलाई नगरको विदाई अघि ९ नम्वर वडा कार्यालयले समेत विदाई गरेको थियो । वडाध्यक्ष भानुभक्त राई, सचिव दीर्घराज राय सहितले विदाई गरेका थिए । पथरीशनिश्चरे नगरपालिका कार्यालय, वडा नम्वर १, ४ र ९, सामुुदायिक वन सहितको केही आर्थिक सहयोगमा यात्रा तय भएको छ । आफुहरुको यात्राका लागि २ लाख बढी खर्च लाग्नेमा सो रकम भनें अपुग रहेको जनाएका छन् । सामाजिक गतिविधिमा सक्रिय अधिकारी र थापाले नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एउटै मोटरसाइकलमा यात्रा थालेको बताए ।
यात्रामा पर्यटकीय ठाउँहरुको अवलोकन गर्दै त्यहाँको फोटो र भिडियो संकलन गरेर अन्यत्रको पर्यटनको सम्भावनाको अनुभवनलाई आफ्नो नगरका ल्याएर जोड्ने लक्ष्य रहेको उनिहरुले बताए । आफुहरुले नगरको शान्तिभूल्के सिमसार सहितका सिमसारयुक्त वन पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने टोलीका अगुवा अधिकारीले जानकारी दिए । व्यक्तिको योगदानबाट राष्ट्को योगदान मजबुत हुने सोचका साथ मे. ८ प १२९० नम्वरको स्कुटरमा आफुहरुले मेचीमहाकाली गरेर २० दिनमा घर आइपुग्ने अनुमानित योजना बनाएको उनिहरुले बताए ।