क्रेजी साप्ताहिक
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् । ७६ वर्षीया कौशीला बिकको उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए । सुनका गहना लुट्ने योजनाका साथ उनीहरुले सासूको हत्या गरेको डीएसपी घलेको भनाइ छ ।
पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लिगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पुर्याएका थिए । गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा गत १९ गते उनको मृत्यु भएको थियो ।
मृतक कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताए । श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासूसँगै बस्दै आएकी थिइन् । घटना हुनेबेला मृतक कौशीलाका श्रीमान मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लिएर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।