
क्रेजी साप्ताहिक
पोखरा : विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको मृत्यु भएको छ । २८ बर्षिय उनको पोखरामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । खगेन्द्र विश्वकै होचा व्यक्तिको रुपमा २०६७ असोजमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए । उनले विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका चाइनाका पीङपीङको रेकर्ड तोड्दै ८ महिना विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका थिए ।
स्वास्थ्यमा समस्या आएपछि पोखरामा मणिपाल शिक्षण अस्पतालमा बिहीबारदेखि उपचार गराइरहेका थापाको शुक्रबार दिउँसो मृत्यु भएको खगेन्द्र थापा मगर प्रतिस्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए । निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । बागलुङको धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए । २२ दशमलव ०४ इन्च उचाइ रहेका थापा १८ वर्षको उमेमा विश्व रेकर्ड कायम गरेका थिए ।
खगेन्द्र पोखराको सिर्जनाचोकका बुवा रुपबहादुर थापा मगर र आमा धनमाया थापा मगरका साथ बस्दै आएका थिए। २०४९ असोज १८ गते जन्मेका थापा जन्मदा ६ सय ग्रामका मात्र थिए । उनको वजन ५.५ किलो ग्राम मात्र थियो ।

