१७ वर्षपछि बहुविवाहका दोषी पक्राउ - Crazysaptahik.com

१७ वर्षपछि बहुविवाहका दोषी पक्राउ


क्रेजी साप्ताहिक । बहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरेका एक व्यक्तिलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको छ । २०५९ सालमा बहुविवाह गरेर फरार बनेका पथरीशनिश्चरे–४ का ४६ वर्षीय रामजी विश्वकर्मालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो । तारामाया विश्वकर्मासँग दोस्रो ववाह गरेपछि जेठी श्रीमतीले बहुविवाह मुद्दा हालेकी थिइन् । फरार सूचीमा राखेर प्रहरीले रामजी र कान्छी श्रीमती तारामायालाई बहुविवाह मुद्दा चलाएको थियो ।

मोरङ अदालतले २०६३ साल फागुन ३० गते दुवै जनालाई जनही एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला ग¥यो । तर कारागारमा बसेर सजाय भुक्तान गर्नु पर्ने दुवै जना फरार थिए । प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनलाई आइतबार अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

रामजीले बहुविवाह गरेर कान्छी श्रीमतीका रुपमा भित्राएकी तारामाया भने अदालतले दोषी गहर गरेको ९ वर्षपछि पासपोर्ट (राहदानी) बनाएर वैदेशिक रोजगारीका लागि दुवईमा गएको पत्ता लागेको छ । अदालतले अपराधी करार गरेकी महिला चार वर्षदेखि दुवईमा रहेकाले नेपाल झिकाउन प्रक्रिया सुरु गरिने डीएसपी गिरीले बताए । उनकाअनुसार विश्वकर्माका कान्छी श्रीमतीतर्फका १३ वर्षकी छोरी र ११ वर्षका छोरा पनि छन् । रामजीको विदेशमा रहेकी कान्छी श्रीमतीसँग नियमित सम्पर्क रहेको पाइएको छ ।

सम्बन्धित खवर