दुई युवा समूहबीच भएको झडपमा एकको मृत्यु - Crazysaptahik.com

दुई युवा समूहबीच भएको झडपमा एकको मृत्यु


क्रेजी साप्ताहिक धादिङ । धादिङमा दुई समूहबीच भएको झडपमा परि एकजनाको मृत्यु भएको छ । झडपमा खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय युवा सन्तबहादुर तामाङको मृत्यु भएको छ । तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले अनलाइनखबरलाई बताएअनुसार गएराति ७ बजेतिर घटना भएको हो । ‘अबेरसम्म युवाको समूहबीच झडप भएको रहेछ’, उनले भने, ‘म घटनास्थलमा पुगेर भर्खर फर्किँदैछु ।’ प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ । घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको थियो ।

सम्बन्धित खवर