क्रेजी साप्ताहिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीनिवास बालुवाटारमाछलफल भएको छ ।
ओली, प्रचण्ड र देउवाबीच आज विहान १० बजेदेखि छलफल भइरहेको हो । देउवाका सहयोगी भानु देउवाका अनुसार सभापति देउवा बालुवाटारमा छन् । प्रतिनिधिसभा संसदमा सभामुख निर्वाचन आइतबार हुँदैछ । नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको छ । तर उपसभामुख निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छैन ।
नेकपा उम्मेदवार अग्निविरूद्ध पार्टीबाट उम्मेदवारी नदिएको कांग्रेसले आफूहरू संसदको दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी भएकोले उपसभामुख पाउनुपर्ने बताउने गरेको छ । यसअघि गत शनिबार ओली, प्रचण्ड र देउवाबीच छलफलपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित पदाधिकारी सत्ता/प्रतिपक्षले भागबन्डा गरी लिएका थिए ।