‘पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको हो ?’ –सञ्चारमन्त्री बास्कोटा - Crazysaptahik.com

‘पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको हो ?’ –सञ्चारमन्त्री बास्कोटा


क्रेजी साप्ताहिक काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वतन्त्र प्रेसमैत्री कानूनका लागि कुनै आन्दोलन गर्नुनपर्ने बताएका छन् । कानून सबै लोकतान्त्रिक बन्ने भन्दै उनले सानातिना त्यान्द्रो समातेर कराउन नपर्ने धारणा ब्यक्त गरे । शुक्रबार नेपाल टेलिभिजन इटहरीको शुभारम्भ गर्दै उनले भने ‘कानूनहरु लोकतान्त्रिक हुन्छ, एउटा त्यान्द्रो समातेर धेरै कराउनुपर्दैन छलफलका ठाउँ बाँकी छ । छलफल हुन्छ ।’

सञ्चारमन्त्री बास्कोटाले रहर लागेमात्रै जुलुस निकाल्न आग्रह गरे । ‘कुनै जुलुस निकाल्न पर्दैन, रहर लागेको छ भने निकाल्नू, जे जे मा जुलुस निकाल्छु भन्नुभएको छ, त्यो केही पनि गर्नुपर्दैन, हामी आफ्नो तरिकाले सबैभन्दा उन्नत किसिमको कानून बनाउँछौं ।’ उनले अब पत्रकारिता क्षेत्रको परीक्षण हुने बेला आएको जिकिर गरे । ‘अब पाठक सम्पादक हुने व्यवस्था लेराएरै छोडिन्छ, अबको जाँचकी पाठक हो’ उनले भने ‘सरकार केही होइन नागरिक समाज भनेको होइन, त्यसो भए अब सञ्चारगृह केही होइन, पाठक, दर्शक शक्तिशाली हो ।’

पत्रकारिता क्षेत्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका सञ्चारमन्त्री बास्कोटाले पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको हो ? भनी प्रश्न गरे । अहिले संविधान संशोधन नगरी प्रेसविरोधी कानून नै ल्याउन नसक्ने भन्दै उनले भने ‘संविधान त्यही जारी राखेर कसरी प्रतिगामी बनाउँछ ?’ पत्रकारको जाँच लिने भन्नेवित्तिकै लोकतन्त्र खतरामा पर्‍यो भनेर टिप्पणी भएको भन्दै मन्त्री बास्कोटाले जाँच दिएर हामी सक्षम छौं भन्न सकिन्न ? भन्दै प्रश्न गरे । ‘लोकतन्त्र खतरामा कहाँ पर्याे भने सक्षमता मापनको प्रश्न आएपछि’ उनले टिप्पणी गरे ‘त्यसो भए सक्षमता मापन नगरौं अहिलेलाई ।’

सञ्चारमन्त्री बास्कोटाले सरकारले संविधान मिचेर काम नगरेको भन्दै मिडियाले आफूलाई पढाउन जरुरी नभएको टिप्पणी गरे । प्रधानमन्त्रीको स्वास्थ्यबारे रिपोर्टिङ गर्दा नेपालको पत्रकारिता क्षेत्रको अवस्था छर्लङ्ग भएको भन्दै मन्त्री बास्कोटाले विषयगत ज्ञान भएका पत्रकारको अभाव रहेको बताए । ‘सरकारलाई आरोप लगाउँदै जाने हो भने नेपाली प्रेस आफ्नै कारणले अप्ठेरोमा पर्छ, सरकारको कारणले होइन’ उनले भने ‘त्यसपछि पत्रकार हुँ भनेर कलम भिरेर के काम ?’ आफ्नो भाषणबाट केही पत्रकार रिसाएर केही फरक नपर्ने मन्त्री बास्कोटाले बताए । ‘कोही पत्रकार रिसाएर केही फरक पर्दैन, यिनीहरुले भन्दा बढी २५ वर्ष पत्रकारिता मैले गरेको छु’ उनले भने ।

अनलाइन खबरबाट

सम्बन्धित खवर