चितुवा आतङ्कले भुम्लुबासि चिन्तित - Crazysaptahik.com

चितुवा आतङ्कले भुम्लुबासि चिन्तित


क्रेजी साप्ताहिक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा चितुवाको आतंकबाट स्थानीय त्रसित बनेका छन् । केही दिनदेखि गोठ तथा छाप्रामा बाँधिएका बाख्रा चितुवाले मार्ने र खाने गरेपछि स्थानीय निकै चिन्तित बनेका हुन् । चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको वडा नं ७ टारका हरिहर उप्रेतीले बताए । गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले जानकारी दिए । उनका अनुसार शुक्रबार राति पनि चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई बाख्रा मारिदिएको छ ।

टार आसपास रहेका कुकुरलाई समेत चितुवाले मारेको उप्रतीले बताए । “चितुवाले बाख्रा र कुकुरलाई मार्न थालेपछि बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्”, उनले भने । चितुवाले बालबालिकालाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि नै बाहिर ननिस्कने गरिएको पीडित उप्रेतीले जानकारी दिए । वडाध्यक्षलाई जानकारी गराई सिफारिशसहित प्रहरी चौकी जाने तयारीमा रहेको उनले बताए । चितुवाले जङ्गल आसपासका बस्तीमा गोठभित्रै बाख्रा मारेको खबर पीडितबाट आएको वडा नं ७ का अध्यक्ष मोतीलाल तामाङले बताए । उनले बताए “सतर्कता अपनाउन सचेत गराइएको छ, आतङ्क न्यूनीकरणबारे सम्पूर्ण जनप्रतिनिधिसहित छलफल गर्ने योजनामा छौँ ।” केही दिनदेखि गाउँपालिकाका केही स्थानमा दिउँसोसमेत चरिरहेका बाख्रालाई चितुवाले जङ्गलबाट आएर मार्ने गरेको खबर आउन थालेको उनले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.