
क्रेजी साप्ताहिक काठमाडौं । प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसुरका आरोपीलाई विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी–८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत छन् । उनलाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका बेला त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले जनाएअनुसार उनले १४ जेठमा गजुरी–८, हलेदेखोलाकी १६ वर्षीया युवतीलाई बिहान ३ बजे जबरजस्ती करणी गरेको अभियोग छ । ‘आफ्नै कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रदेश गरी युवतीले बोल्न कराउन नसक्ने गरी मुख थुनेर जबरजस्ती करणी गरेर उनी फरार रहेका थिए’, पाण्डेले भने, ‘घटनापछि भारतका विभिन्न क्षेत्रमा लुकिछिपी बसेर पछिल्लो समय नेपाल आएको सूचनाको आधारमा उनलाई खोजिरहेका थियौं ।’ बस्नेतलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइ सकिएको पाण्डेले बताए ।

