क्रेजी साप्ताहिक कैलाली । कैलालीको धनगढीबाट एकजना सुत्केरी महिलाको उद्धार गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको हो । सेनाको जहाज (स्काई ट्रक) मार्फत उनको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
डोटीको जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्यधिक रक्तस्राव भएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । धनगढीमा पनि रक्तस्राव नरोकिएपछि उनलाई सामाजिक विकासमन्त्री कृष्णराज सुबेदीको पहलमा काठमाडौं लगिएको हो । सामाजिक विकास मन्त्रालयले प्रदेशमा एयर लिफ्टिङ कार्यक्रमअन्तरगत जटिल गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाहरुलाई उद्धार गर्ने गरेको छ । गत आर्थिक वर्ष पाँचजना र चालु आर्थिक वर्षमा एक जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।