महिलामाथि लाठीचार्ज प्रकरण : इञ्चार्जबाट हटाइए इन्स्पेक्टर पौडेल - Crazysaptahik.com

महिलामाथि लाठीचार्ज प्रकरण : इञ्चार्जबाट हटाइए इन्स्पेक्टर पौडेल


क्रेजी साप्ताहिक
काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको बताए । ‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।’ नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले लाठी चार्ज गरेका थिए ।

साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए । श्रेष्ठले बच्चा बोकेकी थिइन् । पौडेलले घरमा छिरेर हुलहुज्जत र तोडफोग गरेपछि सामान्य बल प्रयोग गर्नुपर्ने स्पष्टिकरण दिएका थिए । प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्नेछ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.