प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज हुँदै - Crazysaptahik.com

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज हुँदै


क्रेजी साप्ताहिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज हुने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए । युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुनेछन् । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिइसकेका छन् ।

निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने जानकारी दिँदै समय भने सर्जनहरूको टोलीले निश्चित गर्ने बताए । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि चलाउन थालिसकेको बताउँदै उनले मिर्गौला प्रत्यारोपण गर्नुअघि गरिने नियमित डाइलासिस भइसकेको जानकारी दिए । डा. खड्गाका अनुसार प्रधानमन्त्री ओलीको क्रसम्याच, नियमित परीक्षण, विशेषज्ञहरूबाट हुने परीक्षण पनि भइसकेको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला पनि मङ्गलबार अस्पताल भर्ना भएकी छिन् । उनको पनि स्वास्थ्य परीक्षण गरिएको डा. खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न चार घण्टासम्म लाग्ने बताए । अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ । निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी २० जना खटिने जानकारी दिए ।

सम्बन्धित खवर