क्रेजी साप्ताहिक
मोरङ । ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट शुक्रबार भागेका विरामि मोरङको विराटनगर आइपुगेका छन् । प्रहरी स्रोतका अनुसा कोरोना भाइरसको आशंका गरिएका उनले बोक्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर आइपुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ ।
सुनसरीको इटहरी घर भएका उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए ।
अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी तीव्र पारिएको थियो । सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि प्रहरीले मोबाइल ट्र्याक गरेर उनको लोकेसन पत्ता लगाएको हो । अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ । यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ ।