
क्रेजी साप्ताहिक
मोरङ । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गर्ने मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई प्रहरीले घटना भएको लामो समयपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालिका–३ स्थित चिया पसलबाट उनलाई पक्राउ गरेको हो ।
गुरुङले २०६९ साल कात्तिक १७ गते बेलुका सुस्त मनस्थितिकी ४५ वर्षीय महिलामाथि बलात्कार गरेका थिए । बलात्कार गरिरहेका बेला स्थानीय बासिन्दाले देखेपछि उनी भागेका थिए । घटना लगत्तै फरार बनेर भारत पुगेका उनी दुई वर्ष अघि मात्रै नेपाल फर्किएको खुलेको छ । भारतबाट फर्किएपछि बेलबारीमा जग्गा दलालीको काम गरिरहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डीएसपी गिरीले बताए ।
भारतमा रहँदा पञ्जावको प्लाइउड फ्याक्ट्रिमा काम गरेको खुलेको गिरीको भनाइ छ । घटना गराएपछि बिहे गरेर घरजम बसाएका उनी अहिले बेलबारीमा डेरा खोजेर श्रीमती र एक छोरीसहित बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । घटनापछि भागेका उनी विरुद्ध प्रहरीले फरार प्रतिवादी बनाएर जवरजस्ती करणी मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङले २०७४ साल जेठ १ गते बलात्कार घटनामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाए पनि गुरुङ पक्राउ परेका थिएनन् ।
जवरजस्ती करणीमा पाँच र सुस्त मनस्थितिकी महिलामाथि करणी गरेकोमा थप पाँच गरेर गुरुङ विरुद्ध १० वर्ष कैद सजायको फैसला अदालतले गरेको थियो । घटनापछि पक्राउ पर्ने डरले भारत पुगेको र नेपाल फर्किएर जग्गा दलाली गर्दै .गर्दा पक्राउ गरिएका गुरुङलाई आइतबार जिल्ला अदालत मोरङमा पेस गरिने डीएसपी गिरीले बताए ।

