
क्रेजी साप्ताहिक
बारा । पत्रकार बिरेन्द्र साहको हत्या आरोपी कुन्दन फौजदारलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट उनि पक्राउ परेका हुन् । २०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए ।
साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए । अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तर्रा्ष्ट्रियस्तरमा आवाज उठ्न थालेपछि खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एक महिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो । बाराको पिपरा गाउँबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।
साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल लगायत दुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो । १२ बर्षपछि पक्राउ परेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् । स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए ।

