प्रहरी र गाँजा तस्करबीच ‘फिल्मी’ इन्काउन्टर, ५ जना प्रहरी घाइते (यस्तो छ घटना) - Crazysaptahik.com

प्रहरी र गाँजा तस्करबीच ‘फिल्मी’ इन्काउन्टर, ५ जना प्रहरी घाइते (यस्तो छ घटना)


क्रेजी साप्ताहिक मकवानपुर । नेपालमा सबैभन्दा बढी गाँजा खेती हुने जिल्ला मध्येमा चिनिएको मकवानपुरमा प्रहरीले गाँजा खेती नियन्त्रणका लागि जति कदम चलाएपनि तस्करीको प्रयास भइरहन्छ । दैनिक जसो तस्करी पक्राउ परेका पनि छन् । घटनाक्रमहरुले मकवानपुरबाट भारतीय नागरिकले गाँजा खरिद गरेर लाने गरेको देखिन्छ । बढ्दो गाँजाको कारोबारलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चेकजाँच तीब्र पारिरहेकै वेला बुधबार फिल्मी शैलीको घटना भयो ।

मनहरीमा बीआर ०६ जे ४४५८ नम्बरको भारतीय कार राति साढे ११ बजेतिर देखा पर्‍यो । नियमित जाँचमा बसेका प्रहरी टोली कार देखेर सडक किनारबाट बीचतिर आए । तर, कार रोकिएन, मनहरीबाट भाग्नेबित्तिकै प्रहरीले नगरपालिकामा एम्बुस थाप्यो । कार झन् हुइकिँदै अगाडि बढ्यो । भारतीय नम्बर प्लेटको कार दुई ठाउँबाट भागेपछि प्रहरीले यो सूचना सबै युनिटमा फैलायो । लेबर्टमा प्रहरी अधिकृत तैनाथ थिए । तर, त्यहाँ पनि सावधानी अपनाउँदा अपनाउँदै कार फुत्कियो । ‘त्यसपछि हामीलाई कारमा लागूऔषध वा हतियार वा विष्फोटक पदार्थ छ भन्ने कन्फर्म भयो’, मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौर भन्छन्, ‘र, मकवानपुरको जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक चेकपोइन्ट राख्न लगाएँ ।’

वडा प्रहरी कार्यालयका हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित सडकमा टोली निस्कियो । यद्यपि, कारको गति घटेन । प्रहरीले हवाइ फायर गर्‍यो । कार अझै तीब्र गतिमा भैरबडाँडातर्फ अघि बढ्यो । त्यसपछि प्रहरी गाडीमा चढेर कारलाई पछ्याउन थाल्यो । ‘अलि अघि पुगेपछि कारको टायरमा गोली हानेपछि मात्र कार रोकियो’, प्रहरी उपरीक्षक (एसपी) राठौरले भने ।

कारमा ३२ किलो गाँजा

हतियारसहितका प्रहरीले घेरा हालेपछि कारमा सवार व्यक्तिले बिरामी लिएर हिँडेकाले रोक्न नसकेको स्पष्टिकरण दिए । तर, प्रहरीलाई विश्वास लागेन । झट्ट हेर्दा महिला विरामी जस्तो पनि देखिँदैनथिन् । त्यसैले खनतलासी लिँदा कारभित्र फल्स बटम बनाएर १६ वटा पोकामा ३२ किलो लागूऔषध गाँजा लुकाएको भेटियो ।

लगत्तै प्रहरीले चालक ३५ वर्षीय सञ्जित पासवान, विरामी कुरुवाको नाटक गर्ने ३५ वर्षीय अजैमल हवारी र आफूलाई बिरामी भन्ने ४५ वर्षीया जाहेरा खातुनलाई पक्राउ गर्‍यो । उनीहरु सबै भारतको मुजफ्पुरका भएको खुलेको छ । तर, उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मकवानपुरतर्फ ल्याउने क्रममा प्रहरीको ना १ झ १४१७ नम्बरको मोबाइल भ्यानलाई बसले ठक्कर दियो ।

हेटौंडा–११, राप्ती पुल छेऊ भएको घटनामा ५ जना प्रहरी घाइते भए । घाइते हुनेमा प्रहरी निरीक्षक भण्डारीसहित हवल्दार नरबहादुर राई, शुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ र सुरेश कुमाल छन् । घटनामा खातुन पनि घाइते भइन् । अन्य दुई जना तस्कर भने अर्को गाडीमा भएकाले दुर्घटनाबाट जोगिए । प्रहरी भ्यानलाई ठक्कर दिने काँकरभिट्टाबाट धनगढीका लागि छुटेको ना ५ ख ५५८२ नम्बरको बस र सवारी चालक पनि अहिले प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित खवर