
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बजारमा मुक्तिनाथ विकास बैंकले आफ्नो शाखा स्थापना गरेको छ ।
आज बैंकले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्वसवसँगै १ सय ५३ औं शाखाको रुपमा पथरीमा शाखा स्थापना गरेको हो । पथरीमा बंैकले केही समय अगाडिदेखि नै आफ्ना सेवाहरु प्रदान गर्दै आएको भएता पनि वार्षिकोत्सवको अवसर पारेर शाखाको औपचारिक रुपमा उद्घाटन गरेको जनाइएको छ ।
बैंककोऔपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर उप–प्रमुख यमुना विष्ट बास्तोलाले स्थानीय स्तरमा स्थापना भएका बैंकहरुले नाफामुखी कार्य सँगसँगै सेवामुखी कार्य गर्नुपर्ने सुझाउँदै मुस्कान सहितको सेवा प्रवाह गर्न अनुरोध गरिन् । यस्तै नगरको शिक्षा प्रमुख शालिग्राम काफ्ले, पथरीका व्यापारी तथा समाजसेवी माधव कोइराला, सिद्धार्थ बैंक पथरीका शाखा प्रमुख विकास बहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

मुक्तिनाथ विकास बैंकले पथरीशनिश्चरेमा स्थापनाको छोटो समयमै १ हजार २ सय भन्दा बढी खाताहरु खोलेर आर्थिक कारोबार संचालन गरिरहेको बैकका शाखा प्रमुख अर्जुन राईले जानकारी गराए । उनका अनुसार बंैकले सेवाग्राहीहरुलाई मध्यनजर ६.५ प्रतिशत व्याजदरमा समृद्धि बचत खाता, १० हजार न्यूनतम मौज्दात रहने गरीको ५० हजार सम्मको औषधि र १० लाख सम्मको दुर्घटना विमा सुविधा रहेको खाता र क्रमित बचतमा १ हजार न्युनतम बैक मौज्दात रहने गरी १ देखि १० वर्ष सम्मका लागि चक्रीय व्याजदरमा १०.२ प्रतिशत आर्कषक व्याजदर भुक्तानी गर्ने वीमा सहितका बैंक खाताहरु पनि संचालनमा ल्याएको जानकारी गराए ।
यसैगरी कर्जातर्फ बैंकले न्यूनतमा व्याजदरमा घर कर्जा, गाडी कर्जा, व्यक्तिगत कर्जा र महिला उद्यमी कर्जाको सेवा पनि दिइरहेको उद्घाटन कार्यक्रममा जनाइएको थियो ।
साथै इन्टरनेट बैङकिङ, मोबाइल बैङकिङ, डिम्याट एटिम सेवा र डेविट कार्डको पनि सेवा संचालन गरिरहेको बैंकले जनाएको छ । पथरी बजारमा हाल साना ठूला गरी १३ वटा भन्दा बैंकहरुका शाखाहरु स्थापना भएका छन् ।

