क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका सहकारी संस्थाहरुका कर्मचारीहरुको साझा संगठन सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेले १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाले अघिल्लो नेतृत्वलाई सामान्य परीवर्तन गर्दै अधिकांस पदाधिकारीलाई दोहोर्याएको छ । संगठनको अध्यक्षमा गणेशकुमार राई दोहोरिएका छन् भने उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ दोहोरिएका छन् । यसका साथै सचिव र कोषाध्यक्षमा क्रमशः कल्याण बजगाई र इन्दिरा बुढाथोकी नै चयन भएका छन् ।
यसैगरी सञ्चालक सदस्यहरुमा डिक बहादुर खड्का, आइतकुमारी तुम्बापो, कल्पना थापा मगर, पुन्यप्रसाद बराल र तेजिन्द्र पाण्डे चयन भएका छन् । संगठनको साधारण सभामा प्रमुख अतिथी रहनु भएका पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले नगरको समग्र विकासमा सहकारीहरुको भूमिका उल्लेखनिय रहेको चर्चा गर्दै कर्मचारीहरुको मिहेनतले सहकारी संस्था संचालनमा पुगेको योगदानको प्रशंसा गर्नुभयो ।
साथै संगठनले विभिन्न संस्थाका कर्मचारीहरुलाई एकताको सुत्रमा बाध्न सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । साधारणसभा मार्फत संगठनले सहकारी क्षेत्रमा योगदान पुर्याउने एक सहकारीकर्मी सम्मान कार्यक्रम अन्तगर्त आरती बहुउद्ेश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष कृष्णकुमार गिरीलाई सम्मान गरेको छ ।
अघिल्लो साधारणसभाले मनकामना सहकारीका संस्थापक अध्यक्ष स्व. तिलक वान्तवालाई सम्मान गरेको थियो ।यसैगरी संगठनले १ नम्बर प्रदेश सहकारी संघ लिमिटेडका संचालक सदस्य एकराज निरौला र जिल्ला सहकारी संघ लिमिटेड, मोरङका सह–सचिव यूवराज भट्टराई र संचालक सदस्य ऋषिराज पौडेललाई सम्मान गरेको छ ।सम्मानित निरौला, भट्टराई र पौडेल नवनिर्वाचित कार्यसमिती सदस्य रहेका छन् ।
साधारणसभामा संगठनको प्रगती प्रतिवेदन तथा कार्ययोजना संगठनका सचिव कल्याण वजगाइले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष इन्दिरा बुढाथोकीले प्रस्तुत गरीन् । कार्यक्रममा सहकारी कर्मचारी संगठन, उर्लाबारीका अध्यक्ष चक्र खड्का लगायतको उपस्थिती रहेको थियो ।