
अनमोल समाचारदाता
उर्लाबारी । गत निर्वाचनको समानुपातिक मतका आधारमा मोरङ क्षेत्र नम्बर १ को सबै ठूलो दल नेकपा एमालेले चुनावी अभियान सुरु गरेको छ ।
मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडालाई भारि मतका साथ जिताउन नेकपा एमालेले चुनावी अभियान सुरु गरेको हो । अभियान अन्तरगत यस क्षेत्रका पालिकाहरुमा पार्टी कमिटीका बैठक बसेर रणनीति निर्माण गरी निर्वाचन लक्षित कार्यक्रम अघि बढाइएको छ ।
यसैबीच लेटाङ नगरपालिकामा ३ सय ३३ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । शनिबार बसेको नगर कमिटीको पूर्ण वैठकले नगर कमिटी अध्यक्ष खगेन्द्रराज भण्डारीको अध्यक्षतामा ३ सय ३३ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । निर्वाचन परिचालन कमिटीमा नगर कमिटीका सबै, वडा कमिटीका सबै, जनप्रतिनिधिहरु, जनवर्गिय संगठनका प्रतिनिधि तथा अग्रज नेता कार्यकर्ता लगायतलाई समेटिएको छ ।
साथै वैठकले वडा स्तरीय निर्वाचन परिचालन कमिटी पनि गठन गर्ने र नगर तथा वडामा नेशनल भोलेन्टीयर फोर्स गठन गर्ने पनि निर्णय गरेको छ । यसैगरी वैठकले सबै नेता कार्यकर्ताहरु आ–आफ्नो वडामा एमालेलाई जिताउने गरि लाग्ने पनि निर्णय गरेको छ ।
नगर कमिटी अध्यक्ष खगेन्द्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, शिल्पा निरौला कार्की, मोरङ १ का उम्मेदवार समेत रहनु भएका कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावती, दिपेश राई, नेत डिल्ली शर्मा अधिकारी, डिल्ली विश्वकर्मा तथा जिल्ला कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बेल्दै नेताहरुले देशी विदेशी शक्तिको आडामा राष्ट्रवादी शक्ति एमालेमाथि प्रहार भएको बताउँदै सबै एकजुट भएर मतदानबाट जवाफ दिनुपर्ने बेला आएको बताएका छन् । विदेशीको इशारामा देश जलाउनेहरुलाई पराजित गर्दै देश बनाउने एमालेलाई जिताउन सबै आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा पनि नेताहरुले जोड दिएका छन् ।

