नेपाली कांग्रेस मोरङ –१ को चुनावी अभियान तीव्र - Crazysaptahik.com

नेपाली कांग्रेस मोरङ –१ को चुनावी अभियान तीव्र

क्रेजी संवाददाता
लेटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर–१ ले चुनावी अभियानलाई तीव्र बनाएको छ ।
संगठन सुदृढीकरण, मतदाता सम्वाद र प्रभावकारी प्रचार–प्रसारलाई केन्द्रमा राख्दै कांग्रेसले उर्लाबारी र लेटाङमा क्षेत्रीय, प्रदेशसभास्तरीय तथा नगरस्तरीय सम्पर्क कार्यालय स्थापना गरेको हो ।
सोमबार उर्लाबारी नगरपालिका–४ स्थित भद्रमारी मार्गमा नेपाली कांग्रेस मोरङ–१ को क्षेत्रिय सम्पर्क तथा प्रचार–प्रसार कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । मोरङ–१ का सभापति तथा चुनावी अभियानका कमाण्डर शंकर राईको संयोजकत्वमा स्थापना गरिएको कार्यालयबाट सम्पूर्ण निर्वाचन गतिविधि सञ्चालन गरिने बताइएको छ ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै संयोजक राईले वर्तमान राजनीतिक परिस्थिति, बदलिँदो सामाजिक संरचना र जनअपेक्षालाई गम्भीरतापूर्वक आत्मसात गर्दै नेपाली कांग्रेस समयसापेक्ष नीति र नेतृत्वसहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षा, सुशासन र समावेशी विकासलाई कांग्रेसको मूल एजेण्डा रहेको उल्लेख गर्दै चुनावी परिणाममार्फत जनताको भरोसा पुनः स्थापित गरिने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले निर्वाचन परिचालन समितीलाई अझ सक्रिय बनाउँदै टोल र वडास्तरसम्म संगठन विस्तार, मतदाता भेटघाट, घरदैलो कार्यक्रम तथा डिजिटल र भौतिक प्रचार–प्रसारलाई तीव्र पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसको संगठनात्मक शक्ति नै चुनावी जितको आधार हुने बताउनुभयो ।
कार्यक्रममा उपस्थित नेताहरूले मोरङ–१ बाट प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोलाई भारी मतका साथ विजयी गराउने साझा लक्ष्यसहित पार्टी संगठनलाई चलायमान बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसै क्रममा सोही दिन उर्लाबारी नगरपालिका–५ स्थित आईजोन इन्टरनेटको कार्यालय परिसरमा प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ । प्रदेशसभा सभापति नरबहादुर मोक्तानले प्रदेशसभा क्षेत्रअन्तर्गतका सबै पार्टी संरचना, भातृ तथा शुभेच्छुक संगठनलाई समेट्दै योजनाबद्ध रूपमा चुनावी प्रचार–प्रसार अघि बढाइने जानकारी दिनुभयो ।
यस्तै, मोरङको लेटाङ नगरपालिकामा पनि नगरस्तरीय सम्पर्क तथा चुनाव प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ । नेपाली कांग्रेस लेटाङ नगर सभापति दीपक चन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीभित्रको एकता सुदृढ गर्दै कांग्रेसको जित सुनिश्चित गर्न सबै कार्यकर्ता जिम्मेवारीपूर्वक परिचालित हुनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागि नेताहरूले संगठनात्मक अनुशासन र सामूहिक प्रयासमार्फत निर्वाचन जित्ने दृढ प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, मोरङ–१ अन्तर्गत पर्ने मिक्लाजुङ र केराबारी गाउँपालिकामा समेत निर्वाचन परिचालन समिती गठन गरी रणनीतिक रूपमा चुनावी अभियान सञ्चालन गरिने निर्णय गरिएको छ । गाउँ–गाउँ र बस्ती–बस्तीसम्म कांग्रेसको सन्देश पु¥याउने योजना अनुसार प्रचार अभियान अघि बढाइने बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री तथा मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले मोरङ–१ को माटो र भूगोल सुहाउँदा विकास एजेण्डा लिएर आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो ।
उहाँले उर्लाबारी, लेटाङ, केराबारी र मिक्लाजुङ क्षेत्रका कृषक, मजदुर, युवा, महिला र व्यवसायीको समस्या बुझेर शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन प्रर्वधन र स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।
“नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, सुशासन र दिगो विकासको स्पष्ट दृष्टिकोणसहित जनताको विश्वास जित्ने संकल्पका साथ निर्वाचनमा सहभागी भएको छ,” उम्मेदवार फागोले भन्नुभयो । उहाँले मोरङ–१ लाई समृद्ध, समावेशी र अवसरयुक्त क्षेत्र बनाउने लक्ष्यसहित आफू जनताको घरदैलोमा पुगिरहेको पनि उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस मोरङ–१ ले आगामी दिनमा संगठन विस्तार, जनसम्पर्क र अभियानात्मक कार्यक्रमलाई थप सशक्त बनाउँदै निर्वाचन जिततर्फ केन्द्रित हुने जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.