क्रेजी साप्ताहिक । प्रदेश नम्बर १ सभाको हिउँदे अधिबेशन सुरु हुँदै गर्दा काठमाडौमा प्रदेश मात्र होइन देशकै नाम किरात राख्न सकिने भन्दै किरात मोर्चा सार्वजनिक भएको छ । बिगतमा किरात, लिम्बुवान, तमुवान, खम्बुवान खसान आन्दोलनको पृष्ठभूमिबाट र पछिल्लो समयमा स्वतन्त्र रहदै आएका व्यक्तिहरु मिलेर किरात मोर्चाको सार्वजनिक भएका हुन । आज (माघ २३) काठमाडौको अनामनगर स्थित बौद्ध गुम्बामा पत्रकार सम्मेलनको आयोजना गरि मोर्चा सार्वजनिक गरेका हुन ।
मोर्चाको सचिवालयमा पहिलो संविधान सभा सदस्य राजकुमार नाल्बो, मिसेकहाङ थाम्सुहाङ, ज्ञनेस्वर राई, राम मगर, तेन्धोङहाङ मिभक, अनन्त किराँती, नवीन किराँती, प्रसाद गुरुङ, वीरेन्द्र श्रेष्ठ, गोपाल पुन मगर, चन्द्र शिरीष मगर, चित्र घर्ती मगर रहेका छन । मिसेकहाङ थाम्सुहाङ लिम्बुवान क्रान्तिकारीको अध्यक्ष, नवीन किराँती किरात जनवादी वर्कस पार्टीको अध्यक्ष थिए । किरात सभ्यताको जगमा राष्ट्रिय राज्यहरु निर्माण गर्ने उदेश्यले स्थापित संगठनलाई कृयाशील गर्ने योजना रहेको बुझिएको छ । मोर्चाको सार्वजनिकसँगै वितरण भएको विज्ञप्तिमा नेपालमा हिन्दुवादी एकात्मक राज्य सत्ताको भेदभाव नै देशको मुख्य समस्या रहेको उल्लेख छ । एकात्मकवादी भेदभावको कारण राष्ट्रियता र समाज झन कमजोर बन्दै गएको उल्लेख छ ।
नेपालको लिम्बु, खम्बु, तामाङ, मगर, तमु, थारु, नेवार, शेर्पा, याक्खा, सुनुवार लगायतमा समुदाय किरात भएको विग्यप्तिमा उल्लेख छ । प्रदेशको नामहरु विगत आन्दोलनहरुको मर्म विपरित राखिन्दै आएको प्रती किराँती मोर्चाको समर्थन नरहेको उल्लेख छ । देशको मिचिएको भूभाग फिर्ता र एमसीसी खारेज गर्न माग गरिएको छ । कार्यक्रममा आमन्त्रित अतिथिहरु किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव भीम राई, बुद्द छिरिङ मोक्तान, भानुराम थारु, खसान संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर खाती, सीएम थारु लगाएतले विचार राखेका थिए ।
सभासद राजकुमार नाल्बोले उत्पीडित समुदायको मुक्तिको लागि नयाँ विद्रोहको आवस्यकता भएको उल्लेख गर्दै किरात मोर्चाले नेतृत्व गर्न सक्ने बताए । नाल्बोले यो माटोमा भएको पहिलो सभ्यता नै किरात सभ्यता भएको बताए । शुभकामना मन्तब्य दिने क्रममा यायोक्खा केन्द्रीय उपमहासचिव भीम राईले प्रदेश १ को नाम किरात राख्न पहल गरिरहेको विषय प्रस्तुत गर्दै एकतावद्द भएर अघि बढ्नु पर्ने बताए । किरात पहिचान स्थापित गर्न यायोक्खा आन्दोलनको तयारीमा लागिरहेको बताए ।