क्रेजी साप्ताहिक
पथरी । मोरङका विभिन्न पार्टीका ३ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । कानेपोखरी – ६ दहीधापमा विहिबार आयोजित एक कार्यक्रममा लिम्बूवान आन्दोलनमा लामो समय देखि क्रियाशील दुई नेता कानेपोखरी ६ का शेरबहादुर लिम्बू र पथरीशनिश्चरे ३ का कावुलबहादुर मगर (विकास ) सहित सयौँ कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । शेरबहादुर लिम्बू कानेपोखरी कै ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहको क्षेत्र नं. ३ का अध्यक्ष हुन् भने विकास मगर पथरीशनिश्चरे ३ को हरियाली सामूदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुन् ।
कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी प्रवेश गर्ने नेताहरूलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा कोइरालाले सरकार नजानिदो पाराले सर्वसत्तावाद लागु गर्ने तयारीमा रहेको बताए । उनले भने – ‘सरकारको गतिविधि हेर्दा एक मिनेट पनि सत्तामा बस्ने हैषियत छैन । प्रजातन्त्रको नाममा नियन्त्रित प्रजातन्त्र छ । वास्तविक प्रजातन्त्र हरण भइसक्यो ।’ कोइरालाले मानव अधिकार समाप्त भइसकेको बताउँदै सरकार संवैैधानिक निकायलाई नियन्त्रित गर्ने ढंगले प्रयोग गर्न चाहिरहेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै महासमिति सदस्य जयराज संयोकले कम्युनिष्ट पार्टीको सरकार सुकुम्बासीलाई धनीपुर्जा देखाएर जग्गा बिक्री गर्ने तयारी रहेको बताए । असली सुकुम्बासीहरूले सरकारसँग जग्गा किन्न नसक्ने बताउँदै उनले भने – ‘१० कट्ठा सम्म जमीन सरकारले एक रुपियाँ नतिरी दिनुपर्छ ।’ पार्टी प्रवेश गरेपछि पार्टीले नयाँ र पुराना भनेर कार्यकर्तालाई हेर्ने दृष्टिकोण फरक नहोस भन्दै पहिचानको आन्दोलनमा लामो समय लागे पनि आफूहरूले चाहेको पहिचान कम्युनिष्ट सरकारले तुहाइदिएको शेरबहादुर लिम्बूले बताए । पहिचानको आन्दोलन शरणार्थी जस्तै बनेको बताउँदै लिम्बूले अब कांग्रेसमा रहेर अधिकार स्थापित गर्ने अभियान थाल्ने उल्लेख गरे