क्रेजी साप्ताहिक
पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं स्थापना दिवसको अवसरमा किर्तिपुर सदस्य सेवा केन्द्रको स्थापना गरेको छ ।
आज पथरी शनिश्चरे–२ मा अवस्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगरपालिकाको वडा नं. ४ किर्तिपुर बजारमा सदस्य सेवा केन्द्रको समुद्घाटन गरेको हो ।
औपचारिक कार्यक्रमका बीच पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले सेवा केन्द्रको उद्घाटन गर्नुभयो । प्रमुख अतिथि राईले साकोससँग नगरपालिकाले नगरको समृद्धि र विकासमा हातेमाले गर्दै अगाडि बढ्ने बताउनुभयो ।
सो कार्यक्रममा ज्येष्ठ सदस्यका रुपमा विष्णु कुमार श्रेष्ठ, पूर्व सञ्चालक लीला निरौला, ५ पिन्ट भन्दा बढी रक्तदान गर्ने संस्था पथरी डेक्सटप एण्ड प्रिन्टिङ हाउस, उत्कृष्ट बचत कारोबारकर्ता रेश्मी आङ्बुङ र वीरकुमार मोक्तान, बाल बचतकर्ता जस्मिन तामाङ, उत्कृष्ट ऋण कारोबारकर्ता सम्झना र बलबहादुर विश्वकर्मा सम्मानित भए ।
एकल सदस्य राहत मार्फत् मिना देवी चौधरी, सन्जोती तामाङ, शर्मिला राई, शान्ति लिम्बु, कमला लिम्बू, गीता लिम्बु र सुस्मा धिताललाई प्रतिव्यक्ति २ हजारका दरले राहत समेत वितरण गरिएको थियो ।
पथरी शनिश्चरे नगर भित्र स्थापित माध्यमिक विद्यालयहरु मध्येबाट यस वर्षको वक्तृत्वकलामा चन्द्र किराँतेश्वर माविकी छात्रा सन्ध्या खड्का प्रथम, पेगोडा अंग्रेजी बोर्डिङ स्कुलकी छात्रा रोशिका ढकाल द्वितीय, बाल नमूना बोर्डिङ स्कुलकी छात्रा सिम्रन ढकाल तृतीय र न्यू प्यगोडा ई बोर्डिङ स्कुलकै छात्र युगल किशोर अधिकारी सान्तवना भएका थिए । उनीहरुले क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र ५ सय रुपैँया र प्रमाण–पत्र पुरस्कार प्राप्त गरे ।
संस्थाका अध्यक्ष धनराज राईको सभापतित्वमा भएको सो कार्यक्रममा पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष गोविन्द भण्डारी, ७ का वडाध्यक्ष कपिलमणि ढकाल लगायतको जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
लर्ड बुद्ध साकोसले शेयर सदस्यहरुलाई सहजताका लागि किर्तिपुर बजारमा सेवा केन्द्र स्थापना गरेको र शेयर सदस्यको सबै कारोबार सेवा केन्द्रबाट नै हुने व्यवस्थापक गणेश बाछना राईले जानकारी दिनुभयो ।