क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा मेची सहकारी संस्था लिमिटेड झापाको ५ औं सेवा केन्द्रको उद््घाटन भएको छ ।
मंगलबार भएको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोख्रेलले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । १ महिना अगाडिदेखि कारोबार सुरु गरेको सेवा केन्द्रको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको थियो ।
सो कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले सहकारीले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने र खेलिरहेको बताउनुभयो । सहकारीका माध्यमबाट थोरै थोरै बचत गरेर ठूलो समस्या टार्न सकिने भन्दै पोख्रेलले राज्यको तीन खम्बे अर्थ नीति भित्र समेत सहकारी क्षेत्र रहेको बताउनुभयो । सहकारीले पैसाको कारोबार मात्रै नभएर प्रत्येक शेयर सदस्यको आर्थिकस्तर उकास्न सक्नुपर्ने बताउनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले सहकारी पथरीमा सेवा केन्द्र उद्घाटन गरेकोमा स्वागत गर्नुभयो । सहकारीको नीति भित्र रहेर यहाँका जनताको आर्थिक स्तर उकास्नका लागि के गर्न सकिन्छ, सो कुरामा समेत मेचीले भूमिका खेल्न सुझाव दिनुभयो ।
कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले मेचीले पैसा भेला पार्ने मात्रै नभएर यहाँ उत्पादन भएका सागसब्जी लगायतका हरेक विषयलाई बजारीकरण गर्न सघाउने प्रष्ट रुपमा राख्नुभयो । मेची बहुउद्देशीय प्रकृतिको सहकारी भएकाले पैसाको कारोबार मात्रै नभएर शेयर सदस्यको आवश्यकता अनुसारका सेवाको कार्यक्रमहरु गर्न सकिने भट्टराईले स्पष्ट पार्नुभयो ।