क्रेजी संवाददाता
पथरी । १ नं. प्रदेशको वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले वैज्ञानिक वन ब्यबस्थापन कार्यविधि खुलाउन पहल गर्ने बताएका छन् ।
बुधबार गृह नगर मोरङको पथरी शनिश्चरे नगरपालिकामा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले मन्त्री थापालाई बधाई सहित सम्मान गरेको थियो । मन्त्री थापालाई सम्मान तथा वैज्ञानिक वन ब्यबस्थापन सम्वन्धी कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । वैज्ञानिक वन ब्यबस्थापन कार्यविधि केपी ओली सरकारले खारेजी गरेपछि अर्को कार्यविधि आएको छैन । वैज्ञानिक वन व्यवस्थापनको खारेजी र अर्को कार्यविधि र वन नियमावली नआएपछि लामो समयदेखि वनमा ढलेको, सुकेको रुख समेत निकाल्न पाएको छैन ।
वैज्ञानिक बन व्यवस्थापन लागू भएको समूहमा लामो समयदेखि प्रतिबन्धहुँदा काठ चोरी हुने संभावना बढ्नुको साथै उपभोक्ताहरुलाई सममस्या पर्दै गएको छ । वन मन्त्री शेखरचन्द्र थापाले आफू मन्त्री बनेपछि सामुदायिक वन र उपभोक्ताहरुको समस्या बुझ्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, वन कर्मचारी, ७ वटै प्रदेशको वन मन्त्रीहरु, संघीय वन मन्त्री, प्रधानमन्त्री शेरबहादुर देउवासँग समन्वय थालेको बताए ।
मन्त्री थापाले सामुदायिक वन र उपभोक्ताहरुको समस्या जनताको समस्याको रुपमा लिएर कार्यविधि पुनः लागू गर्न वा अर्को कार्यविधि तत्काल ल्याउन पहल गर्ने बताए । हरियाली सामुदायिक वन समूहको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय मोरङको प्रमुख अनिरुद्र साहा, वैज्ञानिक वन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्ष दिलाराम राई, झापा जिल्ला अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले वैज्ञानिक वन सम्बन्धी विचार राखेका थि ।
हरियाली साबउसको उपाध्यक्ष केशवप्रसाद दाहालद्वारा संचालित कार्यक्रममा १ नं. प्रदेश सरकारको वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापालाई बधाई सहित सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रम पश्चात् मन्त्री सहित अन्य अतिथिहरुले हरियाली वनको भ्रमण पनि गरेका थिए ।