साल्पामा लर्डबुद्ध साकोसको २१ औं वार्षिकोत्सव - Crazysaptahik.com

साल्पामा लर्डबुद्ध साकोसको २१ औं वार्षिकोत्सव

क्रेजी संवाददाता
पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव होटल साल्पामा सम्पन्न भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संस्थाको २१ औं वार्षिकोत्सवको केक काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटनको क्रममा बोल्दै मेयर तुम्वापोले नगरभित्रका सहकारीको संचालनका लागि स्थानीय सहकारी ऐन बनाएर आगामी सहकारी अभियान्ताहरूको सरसल्लाह र सुझाव लिएर कार्यविधि निर्माण गर्न छलफलमा लगिने बताउनुभयो ।

सो अवसरमा जिल्ला राष्ट्रिय बचत तथा ऋण सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहकारी संस्थाका नाममा कतिपय नाम मात्रका सहकारी संस्थाहरूले सहकारी संचालन विपरीत रहेर आर्थिक हिनामिना, विकृति र विसंगति बढाएको भन्दै नगरपालिकाले वित्तीय ऐन एवं नियमावली बनाएर सहकारी संस्थाहरूका गतिविधि अनुगमन गर्नुपर्ने बताएका छन् ।

उक्त अवसरमा गत आइतबार भएको चौथो अन्तर विद्यालय स्तरीय वक्त्ववकला प्रतियोगिताका विजयी छात्र–छात्रा पुरस्कृत गरिएको थियो । वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिकाझ विषयक वक्तृत्वकला प्रतियोगितामा वडा नं– ३ को चन्द्रकिरातेश्वर माविकी छात्रा निवा चेम्जोङले प्रथम, वडा नं १ को न्यू प्यागोडा अंग्रेजी माध्यमिक विद्यालयका छात्र भविन्द्र अधिकारी – द्वितीय र वडा नं –२ को रेडस्टार आवसीय माध्यमिक विद्यालयकी छात्रा मोनिका आचार्य तृतीय भएकी थिइन्। मोरङ मेरिगोल्ड अंग्रेजी माध्यमिक विद्यालयका समीर कार्की र पञ्चायत माध्यमिक विद्यालयकी गंगा भण्डारीले भने सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय तथा सान्तवना स्थान हासिल गर्ने छात्र छात्राहरुलाई नगर प्रमुख सहित अतिथिहरूले क्रमशः ३५ सय, २५ सय, १५ सय र ५ सय नगद सहित प्रमाण–पत्र प्रदान गरेका थिए । नगरभित्रका १५ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए ।

आफ्नो सहकारी संस्थामा आवद्ध २९ जना जेष्ठ नागरिकलाई कार्तिक, मंसिर र पौष मसान्तसम्मको एकमुष्ट पेन्सन भत्ता वितरण गरिएको थियो । यस्तै जेष्ठ नागरिक सम्मान तथा ५ प्रिन्ट भन्दा बढी रक्तदान गर्ने संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो भने आफ्नो संस्थाका एकल महिला तथा पुरुषहरूलाई पनि राहत रकम वितरण गरिएको थियो ।

पथरी शनिश्चरेमा कार्य क्षेत्र बनाई पत्रकारिता गर्दै आएका भूमिप्रसाद पाठकलाई प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले ५ हजार १ रूपैयाँ बराबरको लर्ड बुद्व साकोस पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष धनराज अमिर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई, ७ नं वडाका वडा अध्यक्ष उद्ववराज बस्नेत, वडा सदस्य चन्द्रकुमार राई, भक्तशेर राई, साना किसान सहकारी संस्था लिमिटेड अध्यक्ष विन्दा देवि राई (विन्दु), चन्द्र किरातेश्वर माविका प्रधानाध्यापक हर्क जिमी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर