पथरी बजार क्षेत्रमा सडक निर्माणबारे सरोकारवालासँग छलफल - Crazysaptahik.com

पथरी बजार क्षेत्रमा सडक निर्माणबारे सरोकारवालासँग छलफल


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) काकरभिट्टा–लौकही सडक खण्ड अन्तर्गत पथरी बजार क्षेत्रको सडक निर्माण सम्वन्धी विषयमा प्रत्यक्ष सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार वडा नं. १ मा अवस्थित नर्वदेश्वर मन्दिर परिसरमा आयोजित छलफलमा सडक विस्तारका क्रममा देखिएका समस्या, नापजाँच प्रक्रिया तथा संरचना व्यवस्थापनका विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो ।
छलफलपछि सडकको पुरानो मर्किङ गरिएको बीच भागबाट दायाँ–बायाँ पुनः नापजाँच गर्ने सहमति भएको छ । पुनः नापजाँच सम्पन्न भएपछि सडक क्षेत्रभित्र पर्ने संरचनाहरू सम्वन्धित सरोकारवालाले आफैं भत्काउने वा खाली गर्ने सहमति भएको वडा नं. १ का अध्यक्ष भीम राईले जानकारी दिनुभयो ।
सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, संघर्ष समितिका अध्यक्ष बाबुराम ऐङ्देन, नगरका योजना शाखा प्रमुख शिव कुमार राई, प्रशासन शाखा प्रमुख लुकनाथ पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.