‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ले यस वर्षको ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्मसहित सात विधामा बाजी मारेको छ । विश्व फिल्ममा ब्लकबस्टर फिल्मको दबदबा कायम रहँदा हार्टहाउस फिल्मको यो विजयले खास अर्थ बोकेको छ ।
एब्सर्डिस्ट कमेडी–ड्रामा मानिएको यो फिल्मलाई ड्यानियल क्वान र ड्यानियल शिइनर्टले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मले एक चिनियाँ–अमेरिकी आप्रवासी महिला पात्र एभलिन वाङलाई पछ्याउँछ, जो आयकरको लागि लेखापरीक्षण गर्दा निराश छिन् ।
यतिबेला उनलाई लाग्छ, बहुविश्वलाई नष्ट गर्न आफूले समानान्तर ब्रह्माण्ड सिर्जना गरेर तीसँग आफूलाई जोड्नुपर्छ । उक्त लेखापरीक्षण सेवाकी इन्सपेक्टर डेइरेड्रे ब्युबेड्रेसँगको भेटमा एभिलिन र उनको परिवार अल्फाभर्स र मल्टिभर्सजस्ता समानान्तरण ब्रह्माण्डमा अघि बढ्छन् ।
प्रत्येक युनिभर्समा उनीहरुको चुनौती, क्षमता र दृष्टिकोण भिन्न भिन्न हुन्छ । सबै विधालाई एकै ठाउँमा राखेर फिल्म बनाउँदा कतिपय दर्शकलाई बुझ्न कठिन पनि लाग्न सक्छ तर दर्शकलाई फिल्मले मज्जाले होल्ड गर्न सक्छ । आईएमडीबीले फिल्मबारे लेखेको छ, ‘एक मध्यम उमेरकी चिनियाँ आप्रवासी महिला एक साहसिक कार्यमा फसेकी छिन्, जसमा उनी एक्लै अन्य ब्रह्माण्डलाई अन्वेषण गरेर र आफूले नेतृत्व गरेको जीवनसँग जोडेर अस्तित्व बचाउन सक्छिन् ।
अभिनेत्री मिसेल योहले एभलिनको भूमिकामा अभिनय गरेकी छन् । यो भूमिकाको लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको ओस्कार मिल्यो । न्युयोर्क टाइम्सले यो फिल्मलाई ‘विधाको घुमाउरो अराजकता’को संज्ञा दिंदै अतिवास्तविक कमेडी, विज्ञान कथा, काल्पनिक, मार्शल आर्ट फिल्म र एनिमेसनका तत्वको खिचडी गरिएको लेखेको छ ।
समीक्षकले फिल्मको मौलिकता, पटकथा, निर्देशन, अभिनय (विशेषगरी येओह, सु, क्वान र कर्टिसको), भिजुअल इफेक्ट, वेशभूषा डिजाइन, कार्य अनुक्रम, संगीत स्कोर र सम्पादनको प्रशंसा गरेका छन् । दार्शनिक अवधारणाहरू जस्तै अस्तित्ववाद, शून्यवाद, र मूर्खतावादको चित्रण, साथै न्युरोडाइभर्जन्स, डिप्रेसन, जेनेरल ट्रमा र एसियाली–अमेरिकी पहिचान जस्ता विषयवस्तुमा यसको दृष्टिकोणको व्यापक रूपमा विश्लेषण गरिएको छ ।
एभलिन क्वान वाङ मध्यम उमेरकी एक चिनियाँ अमेरिकी आप्रवासी हुन् जसले आफ्नो पति वेमन्डसँग लिमेर लुन्ड्रोम्याट (लुगा धुने पसल) चलाउँछिन् । दुई दशकअघि उनीहरु अमेरिका पुगे र उनीहरुकी एक छोरी पनि छिन् । आन्तरिक राजस्व सेवा (आईआरएस)ले लुन्ड्रोम्याटको लेखा परीक्षण गरिरहेको छ ।
न्युयोर्क टाइम्सका क्रिटिक्स एओ स्कटले फिल्मलाई विधाको अराजकताको घुमाउरो भन्दै टिप्पणी गरेका छन् । उनले यसलाई तीतोमीठो घरेलु नाटक भएको बताउँदै एक वैवाहिक कमेडी, आप्रवासीको संघर्षको कथा र आमाछोरीको प्रेमको भरिएको गीतको रुपमा व्याख्या गरेका छन् ।
वासिङ्टन पोस्टमा एनी एनलिन चेंग लेख्छन्, ‘यो मात्र होइन कि मल्टिभर्सले आप्रवासी एसियाली अमेरिकी अनुभवको लागि रूपकको रूपमा काम गर्दछ । एसियाली अमेरिकी नागरिकले भोगेको विस्थापन र व्यक्तित्व विभाजनबारेको एक उदाहरणको रुपमा उनले यो फिल्मलाई पेस गरेका छन् ।
अमेरिकामा एसियाली मूलका बासिन्दाको निराशावादको सामना र वार्ताको लागि फिल्म दर्शनीय रहेको उनको टिप्पणी छ । समग्रमा फिल्म समीक्षकले यसलाई सकारात्मक समीक्षा दिएका छन् । रटन टोम्याटोजले कुल ३८२ समीक्षामध्ये फिल्मलाई ९५ प्रतिशत सकारात्मक रेटिङ दिएको छ ।