दादुरा रुबेला खोप लगाउन नमान्नेलाई स्वास्थ्य केन्द्र लगेर खोप लगाइयो - Crazysaptahik.com

दादुरा रुबेला खोप लगाउन नमान्नेलाई स्वास्थ्य केन्द्र लगेर खोप लगाइयो

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य गरेको छ ।
मंगलबार वडा नं. ९ का कायरा श्रेष्ठ, सन्देश श्रेष्ठ, विवीसो श्रेष्ठ र सन्ध्या श्रेष्ठलाई दादुरा रुबेला खोप लगाइएको हो । उनीहरुलाई वडाका स्वास्थ्यकर्मीहरुले पटक–पटक खोप लगाउन नानीहरुलाई लिएर आउनु भन्दा पनि अटेर गरी बसेकाले आज नगरबाट नगर प्रमुख सहित, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्री सो स्थानमा पुग्नुभएको थियो ।
खोप नलगाउने सो घरमा नगरको टोली पुग्दा घरमुलीहरुले हालसम्म कुनै पनि खोप नलगाएको बताए । नानीहरुलाई खोप लगाउन किन नआउनुभएको ? भन्ने प्रश्नमा घरमुलीले भने– ‘हामी एउटा जापानको संस्थामा आवद्ध छौं सोही कारण हामी खोप लगाउँदैनौं ।’ घरमुखीलीले यस्तो उत्तर दिएपछि नगरको टोलीले सोधखोज र उत्सुकता गर्दा घरमुलीले एउटा किताब दिनुभयो । सो किताब ‘अन्तर्राष्ट्रिय विभागद्वारा संकलन मोकिचि ओकादा स्वर्गीय संसार निर्माण परियोजना, नेपाल प्रथम संस्करण’ नाम लेखिएको थियो ।
नगर प्रमुख तुम्वापोले सो परिवारलाई सम्झाउँदै भन्नुभयो–‘हामीले २०२४ मै यो रोगलाई निर्मूल पार्ने भनिएको थियो तर, सकिएन यो सरुवा रोग हो त्यसैले अन्यलाई असर पार्छ, कृपया तपाईहरुले खोप लगाइदिनुस ।’ त्यसपश्चात् सम्झाई बुझाई गरी बल्लतल्ल खोप लगाउन दुई श्रेष्ठ परिवार राजी भए र वडा नं. ९ को स्वास्थ्य चौकीमा लगेर चारै जनालाई खोप लगाउने कार्य सम्पन्न भएको हो ।
यसरी यस किसिमको पुस्तक या भनौ धर्मले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको देखिन्छ । सोही कारण राज्यको सम्वन्धित निकायहरुले यस्तो विषयवस्तुुमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो–‘अतः यस किसिमको घटनाहरुलाई निर्मूल पार्न नियमन निकायहरुले विशेष पहलकदमी अघि बढाइ चाँसो राख्नुपर्ने देखिन्छ ।’

सम्बन्धित खवर