‘क्षयरोग अन्त्य’ विषयक वक्तृत्वकला प्रतियोगिता - Crazysaptahik.com

‘क्षयरोग अन्त्य’ विषयक वक्तृत्वकला प्रतियोगिता

क्रेजी संवाददाता
पथरी । विश्व क्षयरोग दिवस २०८१ को अवसरमा पथरी शनिश्चरे नगरपालिकामा ‘क्षयरोग अन्त्यमा हाम्रो भूमिका’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार नगरपालिका सभा हलमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापोले भन्नुभयो– ‘क्षयरोग पूर्ण रूपमा उपचार योग्य रोग हो । यसलाई अन्त्य गर्न हामी सबैको सक्रिय सहभागिता आवश्यक छ । नगरपालिकाले क्षयरोग रोकथाम र उपचारका लागि विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ । समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न आवश्यक छ ।’
पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको प्रतियोगितामा नगर भित्रका ६ विद्यालयका ९ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा वाल्मीकि विद्यालयकी रक्षा अधिकारी प्रथम, एभरेस्ट माविकी विप्रसा भण्डारी दोस्रो, र ब्राइट सनराइजकी दिपिका उराउ तेस्रो स्थान हासिल गरिन् । विजेताहरूलाई क्रमशः ३ हजार २ हजार, १ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेमा भन्नुभयो–‘क्षयरोग मुक्त नगर निर्माणका लागि हरेक नागरिकको भूमिका महत्वपूर्ण छ । समुदायमा जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउनु हाम्रो मुख्य लक्ष्य हो । नगरपालिकाले क्षयरोग रोकथाम र उपचारका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानेछ ।’
कार्यक्रममा नगर उपप्रमुख देविमाया काफ्ले, लेखा शाखा प्रमुख पितनम्बर वस्ती, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शिक्षा शाखा प्रमुख नवीन खुलाल, योजना शाखा प्रमुख शिव कुमार राई, महिला विकास शाखा प्रमुख गीता कट्टेल, जनस्वास्थ्य अधिकृत जगत मगर, क्षयरोग मुक्त नगर घोषणा अभियान संयोजक मुकेश पौडेल, बीएनएमटी नेपालका रामप्रसाद कोईराला, क्षयरोगका अनुभवी व्याक्ती एवम् पूर्व क्षयरोग, कुष्ठरोग अधिकृत ध्रुब उराउ लगायत स्वास्थ्यकर्मी, विद्यालय प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शाखा पथरी शनिश्चरेको आयोजना भएको प्रतियोगिता बीएनएमटी नेपाल, चेन्ज टिभी, र स्टप टिभी पार्टनरसिप को सहकार्यमा सम्पन्न गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.