
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा इनिशा विकको हत्या विरुद्ध विरोध सभा तथा प्रदर्शन गरिएको छ ।
शनिबार पथरी बजारस्थित गोर्खा डिपार्टमेन्ट अगाडि पथरी जेसीजको मुख्य आयोजना तथा स्ववियु पथरी बहुमुखी क्याम्पस र नगर इसाई युवा समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो । विरोध सभामा पथरी जेसीजका अध्यक्ष सुमन कुरुम्बाङ, नगर शिक्षा शाखा अधिकृत बिना मिश्र, सुनाखरी माविका प्रधानाध्यापक भूमिका मगर, पथरी जेसीजका निवर्तमान अध्यक्ष निर्मला भट्टराई, पथरी बहुमुखी क्याम्पस स्ववियु सचिव किर्तिका खनाल तथा सञ्चारकर्मीका तर्फबाट अर्जुन जम्नेली राईले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले ‘हामी न्याय मागिरहेका छौं, दया होइन’, ‘हिजो निर्मला, आज इनिशा, भोलि को ?’, ‘सरकार कहिलेसम्म बलात्कार ?’, ‘ढिलो न्याय आधा अन्याय, बलात्कारीलाई तत्काल सजाय’ लगायत लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । कार्यक्रमको संयोजन पथरी जेसीजका उपाध्यक्ष जेसी अहिका शंकरले गर्नुभएको थियो ।


