हरियालीमा पौडीपोखरी जेठ २५ गतेदेखि सञ्चालन हुने - Crazysaptahik.com

हरियालीमा पौडीपोखरी जेठ २५ गतेदेखि सञ्चालन हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वनमा पौडीपोखरीको उद्घाटन हुनेभएको छ । वि.सं. २०७६ मा हरियालीले नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरिसकेको छ ।

आज वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पौडीपोखरीको बारे विस्तृत जानकारी दिइएको हो । वनले २ वटा पौडी पोखरी निर्माण गरिसेको छ । बालबालिका र वयस्कलाई छुटाछुट्टै पौडीपोखरी निर्माण गरेको वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)ले जानकारी दिनुभयो । यही जेठ २५ गतेदेखि पोखरी सर्वसाधारणका लागि खुल्ला गरिने मगरको भनाइ थियो । सो पौडीपोखरीमा बालबालिकाहरुलाई १ सय र वयस्कहरुलाई २ सय रुपैयाँ पौडीेको शुल्क लाग्ने बताइएको छ ।
यस्तै सो क्षेत्रमा विवाह, पार्टी, भोज, सांगीतिक कार्यक्रमको लागि एसी सहितको सभा हल चालु अवस्थामा रहेको छ । पार्किङ, शौचालय, चमेना गृह, पर्यपर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसारको ३ वटा पोखरी निर्माण भइरहेको छ ।
पौडीपोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्ड लगायतका अन्य थुप्रै सुविधाहरू उपलब्ध छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनको अन्त्यमा हरियाली सामुदायिक वन लिमिटेडका कानूनी सल्लाहकार विष्णुप्रसाद ज्ञवालीले सामुदायिक वन लिमिटेडका बारेमा प्रष्ट्याउनुभएको थियो । सो सम्मेलनमा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङ, हरियाली सामुदायिक वनका सचिव निर्मला चौहान, वनका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर