९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने - Crazysaptahik.com

९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने

हेम गिरी
कोलोराडो । अमेरिकाको कोलोराडोस्थित डेन्भर सहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औं किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ ।
त्रिदीवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्वन्धित संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागीता रहने आयोजक समितिका मणि राईले जानकारी दिएका छन् ।
किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले आयोजना गरेको कार्यक्रमको किराँत कल्चरल सोसाइटी अफ कोलोराडोले कार्यक्रम व्यस्थापनको लागि सहयोग गरेको छ । पहिलो चोटि कोलोराडोमा आयोजना हुन लागेको यस अधिवेशनमा करिब ५०० जनाको सहभागीता रहने अनुमान गरिएको छ । त्रिदीवसीय कार्यक्रमको पहिलो दिन वार्षिक सम्मेलन २०२४ साथै माङसेवासाबा÷मा समितीको सम्मेलन हुने छ ।
यसैगरी दोस्रो दिन वर्षीक खिबेक्वा याक्वा सेवा २०२४ उभौली सेवा हुने अनि त्यसै दिन विभिन्न राज्यहरूबाट आएका धर्मावलम्बीहरूबाट संस्कार संस्कृत झल्काउने भेष–भुषा अनि अन्य विषय वस्तुहरूको प्रर्दशनी हुने छ र तेस्रो दिन वार्षिक संस्कृति कार्यक्रम साथै विभिन्न राज्यहरूबाट आएको नृत्यहरूको प्रतियोगिता साथै किराँत विधार्थीहरूलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजक समितिले बताएको छ ।
किरात कम्यूनिटी अर्गनाइजेसन अफ अमेरिका विदेशमा रहेर आफ्नो भाषा, भेषभूषा, पहिचान र अस्तित्व संरक्षणमा लागि परिरहेको एक संस्था हो । विदेशमा रहेर आफ्नो धर्म, शास्त्र, परम्परा र दर्शन जोगाउन लागि परिरहेका विभिन्न धार्मिक संस्थाहरू मध्ये किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका पनि एक विशेष संस्था हो । यस अघिका किराँत राष्ट्रिय अधिवेशनको कार्यक्रमहरू अमेरिकाको टेक्सेस, ओहायोको ३ वटा सहरहरूमा, जर्जिया, केन्टुकी, यूउटा अनि टेनेसी राज्यहरुमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर