राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम - Crazysaptahik.com

राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम

क्रेजी समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम–२०८२ सम्पन्न भएको छ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पथरी शनिश्चरे–१० मा स्थापित श्री पशुपति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम आयोजना गर्दै व्यवसायिक लाहा खेतीको थालनी गरेको हो ।
शनिबार भएको कार्यक्रममा समूहले वनको खण्ड–१ मा लाहा उत्पादनका लागि आवश्यक होस्ट प्लान्ट सेमिया लत्ता र कुसुमका बिरुवा रोपेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेशसभा सदस्य माननीय मानबहादुर लिम्बुले लाहा खेतीले वन क्षेत्रलाई हरियाली मात्र नभई आर्थिक समृद्धिको केन्द्रमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरे ।

यस्तै प्रदेशसभा सदस्य माननीय गिता तिम्सिनाले परम्परागत वन प्रयोगको ढाँचाबाट बाहिर निस्कँदै लाहा खेतीमार्फत आर्थिक रुपान्तरणको अभियान थालिएको उल्लेख गरिन् । ‘वन उपभोक्ताहरूको समर्पण र श्रमले आम्दानीका नयाँ सम्भावना खोल्नेछ,’ उनले भनिन् ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार–कार्यालयको सहकार्यमा चालु वर्ष ३ हेक्टर क्षेत्रफलमा लाहा खेतीको होस्ट प्लान्ट रोपिएको हो । ‘पशुपति सामुदायिक वनमा २ हेक्टर र महिला जागृति सामुदायिक वनमा १ हेक्टरमा लाहा खेती सुरु गरिएको छ’ उनले जानकारी गराए ।
लाहा विशेषज्ञ डम्बर विश्वकर्माले कार्यक्रममै लाहाको वैज्ञानिक पक्ष र यसको व्यावसायिक महत्वबारे जानकारी दिँदै भने–सेमिया लत्ता र कुसुम जस्ता होस्ट प्लान्टमा लाहा कीरा राखेर जैविक रूपमा उत्पादन गरिन्छ, जसको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ ।’
यसैगरी कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले लाहा खेतीले युवा पुस्तालाई वैदेशिक रोजगारीको विकल्प दिन सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रम अध्यक्ष पुष्पराज शाहीको अध्यक्षता, उपाध्यक्ष बालकुमार ठाडा मगरको स्वागत मन्तव्य र विवेक न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नगरभरिका ११ सामुदायिक वनका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रतिनिधि तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर